दफा ६४४
घरेलु सहायक सम्बन्धी विशेष व्यवस्थाः

(१) कसैले घरेलु सहायकको रूपमा कसैलाई काममा लगाएमा काममा लगाउनेले निजका हकमा देहायका शर्तहरू समेत पालना गर्नु पर्नेछ:-
(क) ज्याला मजुरी मासिक वा वार्षिक रूपमा निर्धारण गरी भुक्तानी गर्नु पर्ने,
(ख) काम लगाउनेको हैसियत अनुसार बिहान, दिउँसो र बेलुकी तीन पटक खान तथा मौसम अनुसार लगाउने कपडा दिनु पर्ने,
(ग) आफ्नो हैसियत अनुसार उपयुक्त आवास, शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनु पर्ने,
(घ) अठार वर्षभन्दा कम उमेरको भए निजले चाहेमा घर व्यवहारको काम हेरी उपयुक्त समयमा अध्ययनको व्यवस्था गर्नु पर्ने,
(ङ) बिरामी भएमा निजको स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्ने, तर सो वापतको खर्च निजको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न सकिने छैन ।
(च) बिरामी हुँदाका बखत काममा नलगाउने र अन्य अवस्थामा निजको उमेर, क्षमता वा अवस्थाले गर्न नसक्ने काम नलगाउने,
(छ) मृत्यु भएमा निजको सदगत तथा सामान्य काज किरियाको लागि लाग्ने खर्च व्यहोर्नु पर्ने,
(ज) अमानवीय, अपमानजन्य व्यवहार वा घरेलु हिंसा नगर्ने,
(झ) घरेलु सहायकसँग आफूले मञ्जुर गरेका अन्य शर्त पालना गर्नु पर्ने ।
(२) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिम हुने खर्च घरेलु सहायकको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न सकिने छैन् ।
(३) कसैले कुनै व्यक्तिलाई घरेलु सहायकमा काम लगाएकोमा त्यसरी काम लगाएको मितिले एक महिनाभित्र सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा समितिलाई लिखित रूपमा जानकारी गराउनु सकिनेछ ।